कृषि उपकरणमा विदेशकै भर, आयातित उपकरणको प्रचार गर्दै व्यवसायी

काठमाडौंमा जारी ‘सातौँ नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ आईतवार सम्पन्न हुँदैछ ।

शुक्रवारदेखि जारी कृषि मेलाले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम् प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ । मेलाले कृषिमा प्रविधिको प्रयोगलाई बढावा दिने कृषि व्यवसायीको विश्वास छ ।

कृषि उपकरणको प्रचार प्रसारका लागि मेलामा स्वदेशी तथा विदेशी कृषि उपकरण कम्पनीहरुले स्टल राखेका छन् । मेलाले नेपालमा भएको कृषिसम्बन्धी सेवा र वस्तुलाई निर्यात गर्न मद्दत पु¥याउने र विदेशबाट गुणस्तरीय कृषि उपकरण आयात गर्ने उनीहरुको विश्वास छ । कृषि मेलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भएका विजनेसहरुलाई एक,अर्कामा आदानप्रदान गर्ने रुपमा बुझेको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका नायव महाप्रवन्धक रामशरण तिमल्सिनाले बताए।

उनले नेपालमा रहेको वस्तु तथा सेवालाई निर्यात गर्न तथा नेपाललाई आवश्यक कृषि उपकरण आयात गर्न सकियोस् भनेर मेलामा जोडिएको बताए। कृषि उपकरण व्यवसायीहरुले गरिरहेका कामहरुबारे सरकारी तथा गैरसरकारी संस्थाहरुलाई देखाउने यो उत्तम विकल्प भएको समेत उनको भनाइ छ । कृषिसम्बन्धी कुनैपनि उपकरण र कृषि व्यवसायको योजना बनाउनका लागि मुक्तिनाथ कृषि उपयुक्त भएको उनको भनाइ छ ।

उनले भने, ‘एग्रिटेक एक्सपोलाई ‘बि टू बि’का माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भएका विजनेसहरुलाई एकअर्कामा आदानप्रदान गर्ने रुपमा बुझेका छौं । त्यकारण हामीसँग भएको वस्तु तथा सेवालाई बाहिरका कम्पनीहरुसँग एप्रोच गर्न सकियोस् र हामीलाई चाहिने वस्तु तथा सेवालाई बाहिरका कम्पनीहरुबाट लिन सकियोस् भन्ने पहिलो उद्देश्य रह्यो । दोस्रो, सरकारी गैरसरकारी निकायहरुलाई हामीले के गरिरहेका छौं भन्ने विषयवस्तु देखाउनका लागि पनि यो प्लेटफर्म उपयुक्त हुन्छ भनेर हामी यहाँ उपस्थित भएका छौं । तेस्रो यदि कसैले कृषिसम्बन्धी व्यवसाय गर्न चाहनुभएको छ भने मुक्तिनाथ कृषि कम्पनीछ भनेर प्रदर्शन गर्न आएका छौं । अर्को महत्वपूर्ण कुरा जतिपनि किसान र उपभोक्ताले यदि केही गर्न चाहानुहुन्छ भने त्यसका लागि योजना मुक्तिनाथ कृषि कम्पनीसँग छ भनेर प्रचार गर्नको लागि हामी यहाँ सहभागि भएका छौं ।’

एक्सपोमा कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाई भैँसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेरिनरी, खाद्य प्रविधिबारे जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । मुख्य प्रदर्शनी स्थलमा सबै विधाका अलग–अलग समूह स्टल रहने र प्रदर्शनीमा प्रवेश निःशुल्क रहेको छ ।