वीरगञ्ज भन्सारद्वारा ७ महिनामा साढे ९४ अर्ब राजस्व संकलन

वीरगञ्जः वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको सात महिनामा ९४ अर्ब ५२ करोड १६ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिमा सङ्कलित रकममा ७ अर्ब ९५ करोड रुपैयाँले बढी हो ।

कार्यालयले उक्त अवधिमा १ खर्ब २१ अर्ब ८१ करोड ६६ लाख ४६ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व सङ्कलन पनि बढेको हो । ‘दुई महिनायतादेखि राजस्व असुलीमा वृद्धि भइरहेको छ,’ उनले भने ।

गत साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड र असोजमा १३ अर्ब ४७ करोड राजस्व असुली भएको थियो । यो कार्यालयलाई चालू आवमा २ खर्ब १८ अर्ब ९५ करोड राजस्व सङ्कलन गर्न सरकारले निर्देशन दिएको छ ।