सिन्धुपाल्चोकः जिल्लाको लिसंखुपाखर गाउँपालिका–५ जेठलकी २८ वर्षीया साग गोल्डमेडेलिस्ट विजेता काजल श्रेष्ठ तेक्वान्दोको दुई विधामा अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) बनेकी छिन् ।
भारतको पुनेमा यही (२०२५ जनवरी २२ देखि २६ ) मा सम्पन्न ६० औं विश्व तेक्वान्दो पुम्से अन्तर्राष्ट्रिय निर्णायक सेमिनारमा भएको परीक्षा र कोर्समा विभिन्न देशका खेलाडीसहित उनी सहभागी थिइन् । बिहीबार पुम्सेतर्फ अन्तर्राष्ट्रिय निर्णायकमा काजलले उत्कृष्ट परिणामसहित श्रेष्ठले नाम निकालेकी हुन् ।
काजलले गत वर्ष २०२४ जनवरी ७ मा दक्षिण कोरियाको मुजु सहरमा क्योरोगी विधाबाट पनि अन्तर्राष्ट्रिय निर्णायक परीक्षा र कोर्स सफलतापूर्वक पुरा गरिसकेकी छिन् ।
विश्व तेक्वान्दोद्वारा लिइने क्योरोगी र पुम्से गरी दुई विधाका अन्तर्राष्ट्रिय निर्णायक परीक्षा र कोर्स कठिन तथा महत्त्वपूर्ण मानिन्छ । यसअघि २०२४ डिसेम्बर ७ मा अन्तर्राष्ट्रिय कोचसमेत पास गरेकी उनले दुई विधाका परीक्षामा सफलता पाएसँगै आफू दुई विधाको अन्तर्राष्ट्रिय रेफ्री बनेको बताइन् ।


















