दैलेखमा आठ वटा झोलुङ्गे पुल निर्माण गरिदैं

  • दैलेख: दैलेखका चार वटा पालिकामा आठ वटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् ।

कर्णाली प्रदेश सरकारको लगानी तथा पूर्वाधार विकास कार्यालय दैलेख र ग्रामीण विकास सेवा केन्द्रको सहजीकरणमा ती पुल निर्माण हुने भएका हुन् ।

पूर्वाधार विकास कार्यालयका अनुसार दैलेखको आठबिस नगरपालिका–१, चिनेखोलामा लयाँटा–झुज, वडा नं। ९ को छेपाडी र भकभके भन्ने ठाउँमा एक एक वटा झोलुङ्गे निर्माण हुनेभएका छन् ।

त्यस्तै महाबु गाउँपालिका–३, बाँसीको तिपेडी, भैरवी गाउँपालिका–४ र चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ जोड्ने गडाजिउला, नारायण नगरपालिका–१० भवानीमा त्रिवेणी दोभान, डुङ्गेश्वर गाउँपालिका–३ हनेटा र ठाँटीकाँधको लहरे सुइँयाँमा गरी आठ वटा पुल निर्माण हुने कार्यालयले जनाएको छ ।

पूर्वाधार विकास कार्यालय दैलेखका अनुसार विभिन्न स्थानमा आठ वटा झोलुङ्गे पुल निर्माणका लागि उपभोक्ता समिति निर्माण गरी उनीहरूको क्षमता विकास तालिमसमेत सञ्चालन गरिएको छ।

झोलुङ्गे पुल बनाउने तरिका र प्रयोग हुने सामानको प्रयोगात्मक अभ्यास गराउन आठ वटै उपभोक्ता समितिका पदाधिकारी र मिस्त्रीलाई आवश्यक तालिम समेत दिएको कार्यालयले जनाएको छ ।

पुल आगामी असार १५ गतेसम्म सम्पन्न गरिने योजना रहेको छ ।