माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाण्डौः वैदेशिकरोजगारीमा आकर्षक तलवको प्रलोभनमा पारी माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लमजुङ बेशीशहर नगरपालिका–७ घर भई काठमाडौं टोखा नगरपालिका–८ बस्ने २३ वर्षीय सरोज थापा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने ४६ वर्षीया कल्पना रावत रहेका छन् ।

पक्राउ मध्ये सरोजले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ६४ हजार रूपैयाँ र कल्पनाले अल्बानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख ८२ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरोजलाई काठमाडौं महानगरपालिका–२६ बाट सोमबार र कल्पनालाई ललितपुर महानगरपालिका–१५ बाट आइतबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।