काठमाडौँ: काठमाडौं महानगरपालिकाले फागुन १६ र १७ गते ‘काठमाडौं शैक्षिक मेला २०८१’ गर्ने भएको छ ।
महानगरपालिकाले फागुन १६ र १७ गते प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृह परिसरमा ‘काठमाडौं शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको हो ।
विद्यालयमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएको कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सिपको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागेको महानगरपालिकाले जनाएको छ ।
मेलामा विद्यार्थीले नवीनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन् । बुक–फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शन हुने महानगरले जनाएको छ ।
मेलामा सामुदायिक विद्यालयले दिवा खाजाका रूपमा ३० रुपैयाँमा उपलब्ध गराउनेछ । यस्तै, नेपाल भाषाको सिकाइ विधि, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति हुनेछन् ।
मेलामा महानगरभित्र सञ्चालित विद्यालयमा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकको क्षमता विकासलगायत कार्यक्रम समावेश गरिने छ ।
साथै मेलामा महानगरको शहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरूले सहजीकरण गर्नेछन् ।
मेलामा विभिन्न ३५ वटा शैक्षिक उपसमूहका स्टल रहने मेलामा शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनाको सहभागिता रहने महानगरले जनाएको छ ।



















