लागुऔषधविरुद्धको महाअभियानलाई देश व्यापी बनाउन आवश्यक : गृहमन्त्री लेखक

काठमाडौं: गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका निम्ति लागुऔषधविरुद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन् ।

शनिबार काठमाडौंमा उपत्यका प्रहरी कार्यालयले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियान उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले लागुऔषध व्यक्ति, परिवार हुँदै समाजकै लागि घातक बन्दै गएको भन्दै लागुऔषधविरुद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

मन्त्री लेखकले लागु औषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । साथै, उनले यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले लागुऔषधि नियन्त्रण अभियान सञ्चालन गर्न आवश्यक भएको औलाएका छन् ।

त्यस्तै उनले विद्यालय स्तरसम्म महाअभियान पुर्‍याउन आवश्यक रहेको पनि बताए ।

उनले समयमै लागुऔषधि नियन्त्रण गरेनौ भने दश/पन्ध्र वर्षमा एउटा पुस्ता नै नराम्रोसित प्रभावित हुने खतरा बढेको भन्दै चिन्ता समेत व्यक्त गरे ।