छलफल गरी पाथीभरा केबलकार निर्माण अघि बढाउनु पर्ने एमालेको धारणा

काठमाडौं: सत्तारुढ दल नेकपा (एमाले) ले पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र सरोकारवाला समूहहरुसँग छलफल गरेर निर्माण प्रक्रिया अघि बढाउनुपर्ने बताएको छ ।

आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव शंकर पोखरेलले ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र सरोकारवाला समूहहरुसँग छलफल गरेर समस्या समाधान गर्ने बताए ।

उनले केबलकार निर्माणको प्रक्रियालाई अगाडि बढाउनका लागि सहज वातावरण बनाउने बारेमा सरोकारवाला समूहहरुसँग छलफल गरेर अघि बढ्ने कुरामा पार्टीले चासो राखेको समेत उनले बताए ।

पाथीभरा केबलकार निर्माणको विवाद अन्त्य गरी सहज वातावरण बनाउने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराएको समेत पोखरेलले जानकारी दिए।