काठेखोलाका आमा समूह आलु र अकबरे खुर्सानीको बीउ उत्पादनमा ब्यस्त

बागलुङ: जिल्लाको काठेखोला गाउँपालिकाका महिलाहरूले आलु र अकबरे खुर्सानीको बीउ उत्पादन गर्न सामूहिक खेती थालेका छन् ।

काठेखोला वडा नं. २ भीमापोखरा, वडा नं. ३ धम्जा र वडा नं. ४ तंग्रामका महिलाहरू समूहमा आबद्ध भएर ‘कार्डिनल जात’को आलु र अकबरे खुर्सानीको बीउ उत्पादन थालेका हुन् ।

काठेखोला गाउँपालिका र हेफर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बिवाईसी बागलुङद्वारा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास तथा बजारीकरण परियोजनाअन्तर्गत काठेखोलाका हरेक वडालाई उत्पादनसँग जोड्न मठे देउराली आमा समूहले धम्जा, भावना र सरस्वती आमा समूहले भीमापोखरा तथा सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीले तंग्राममा कार्डिनल जातको आलुको बीउ उत्पादन गर्न सामूहिक खेती गरेका हुन् ।

आमा समूहले उत्पादन गरेको बीउ आफ्ना बहिनी समूहसँगै पालिकाका आठ वटै वडाहरुमा वितरण गरिने आमा समुहले जनाएका छ्न् । आज सानो परिणाममा काम गरे पनि भोलि किसानलाई व्यावसायिक आलु खेतीमा प्रेरित गर्न बीउ उत्पादनमा जोड उनीहरुले बताएका छ्न ।

परियोजनाले पाला, भीमपोखरा, धम्जा, तंग्राम, लेखानी, बिहुँ र रेसमा दूध उत्पादन, आलु, बाख्रा, अकबरे खुर्सानी, तरकारी र फलफूल पकेट क्षेत्रको रूपमा विस्तार गर्ने लक्ष्य लिएको छ ।

काठेखोलाको भीमापोखरा, रेस र ८ लेखानीमा अकबरे खुर्सानीको पकेट क्षेत्र विस्तार गर्ने परियोजनाको लक्ष्यअनुसार, एउटा वडामा आधा किलो अकबरे खुर्सानीको बीउ वितरण गर्ने तयारी समेत गरिएको छ ।

राम्रो बजार रहेको अकबरे खुर्सानीबाट किसानले नगदै आम्दानी गर्न सक्ने परियोजनाले विश्वास लिएको छ ।

यस्तै, परियोजनाले पशुपालनका लागि आवश्यक घाँसको लागि किम्बुको नर्सरी समेत स्थापना गरेको छ ।