हङकङका अर्बपतिले पानामा नहरको बन्दरगाह अमेरिकी कम्पनीलाई बिक्री गर्ने

हङकङः हङकङको एक कम्पनीले पानामा नहरमा रहेको दुई बन्दरगारको अधिकांश सेयर अमेरिकी लगानी कम्पनी ब्ल्याकरकले नेतृत्व गरेको एक समूहलाई बिक्री गर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नहर चिनियाँ नियन्त्रणमा रहेको र अब यसको नियन्त्रण अमेरिकाले लिनुपर्ने गुनासो गरेको केही हप्तापछि यो निर्णय लिइएको हो ।

सीके हचिसन होल्डिङले नहरलाई सञ्चालन गर्दै आइरहेकोमा मंगलबार कम्पनीले २२.८ अर्ब डलरमा आफ्नो सेयर बेच्ने बताएको थियो । सीके हचिन्सन हङकङका अर्बपति ली का–सिङले स्थापना गरेका हुन् । यसमा चिनियाँ सरकारको स्वामित्व छैन ।

यद्यपि, यो हङकङबाट सञ्चालन हुने हुँदा यसले चिनियाँ आर्थिक कानुनहरू पालना गर्नुपर्छ । कम्पनीले सन् १९९७ देखि नहर सञ्चालन गर्दै आइरहेको छ ।

यो आर्थिक सम्झौतामा २३ देशका ४३ वटा बन्दरगाह समावेश रहेको छ । यो सम्झौता गर्न पानामाको सरकारको सहमति पनि आवश्यक पर्नेछ ।

८२ किलोमिटर लामो पानामा नहर आन्ध्र महासगर र प्रशान्त महासागरलाई जोड्ने मुख्य विन्दु हो । यसबाट वार्षिक १४ हजार जहाज यात्रा गर्छन् । यसलाई सन् १९०० ताका निर्माण गरिएको थियो ।

अमेरिकाले सन् १९७७ सम्म यसमा नियन्त्रण राख्दथ्यो । तर, सन्धि अनुसार यसलाई पानामालाई हस्तान्तरण गरिएको थियो । पानामाले सन् १९९९ मा एकल रूपमा यसको स्वामित्व पाएको थियो ।