ताप्लेजुङ: ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गर्न सुरु गरिएको छ ।
किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गर्न सुरु गरिएको हो ।
सिदिङ्वाका किसानलाई पहिलोपटक किसान परिचयपत्र वितरण थालिएको हो ।
कृषि विकास शाखाका अनुसार किसान सूचीकृत भई परिचय पत्र बनेर आएका किसानलाई परिचयपत्र वितरण समेत थालिएको छ ।
गाउँपालिकाका सबै वडामा गरी हालसम्म किसान सूचीकरण प्रणालीमा एक हजार ८५० घर परिवार सूचीकृत भइसकेका छन् ।
सूचीकृत भएकामध्ये एक हजार ३०० किसान परिवारको परिचयपत्र आएको र शुक्रबारसम्म ९०० जनालाई परिचयपत्र वितरण भएको कृषि विकास शाखाले जनाएको छ ।
शाखाका अनुसार वडा वडामा पुगेर किसानलाई परिचयपत्र वितरण गरिएको छ
साथै यसअघि सूचीकरण हुन छुटेका किसानको वितरण सङ्कलनको काम पनि भइरहेको छ ।
२०७८ को जनगणना प्रतिवेदनअनुसार सिदिङ्वा गाउँपालिकामा करिब दुई हजार १०० किसान परिवार रहेका जनाएको छ ।
प्रणालीमा सूचीकृत भइसकेका र नयाँ सूचीकरण हुँदै आएको किसानको परिचयपत्र छपाई भएर आएपछि सम्बन्धित किसानलाई वितरण गरिने कृषि विकास शाखाले जनाएको छ ।
सरकारी निकायबाट प्रवाह हुने सेवा सुविधा प्राप्त गर्नलाई किसानले आफ्नो परिचयपत्र प्रयोग गर्न सक्ने छन् । किसान पहिचान तथा सूचीकरणसँगै क्रमशः अवस्था वर्गीकरण गरिने र सो अनुसार कृषिसँग सम्बन्धित सेवा सविधा प्रवाहको योजना बन्ने बताइएको छ ।
किसान सूचीकृत भएपछि सरकारले प्रवाह गर्ने सेवा सुविधामा किसानको सहज पहुँच स्थापित गर्न, किसानलाई आवश्यक पर्ने महत्त्वपूर्ण सूचनालाई व्यवस्थित गर्नलगायतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । परिचयपत्र पाएपछि किसान पनि हर्षित बनेका छन् ।




















