बुढानीलकण्ठ नगरपालिकाका महिलाहरुको नि:शुल्क पाठेघरको मुखको क्यान्सर परिक्षण

काठमाडौ: बुढानीलकण्ठ नगरपालिकामा महिलाहरुको नि:शुल्क पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको छ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ चपली घुम्ती स्थित बुढानीलकण्ठ स्वास्थ्य चौकीमा महिलाहरुको नि:शुल्क पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको हो।

महिलालाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनाभर देशभर नि:शुल्क पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रम संचालनमा ल्याएको छ ।

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने मन्त्रालयको लक्ष्य छ ।

जस अन्तर्गत आज शनिबार बुढानीलकण्ठ नगरपालिकामा पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको नगरपालिकाले जनाएको छ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का  वडा अध्यक्ष आकाश धितालका अनुसार नगरपालिकाभित्रका करिब २ सय महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण गरिने छ ।

नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । तर समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने भएकाले हाल अभियानका रुपमा  देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको क्यान्सर भए नभएको परीक्षण गरिएको  हो ।