काठमाडौंः थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौँको टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एव थारु कल्याणकारिणी सभाका नवनिर्वाचित अध्यक्ष प्रेमीलाल चौधरीले जानकारी दिए । उनका अनुसार माघी महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । यसवर्ष ‘थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहति माघी पर्व मनाउन लागिएको हो । उनका अनुसार माघी सफल बनाउन मूल आयोजक समिति मातहतमा विभिन्न उपसमितिहरू गठन गरिएको छ । २० भन्दा बढी थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा हुने माघी महोत्सवमा २०८१ मा यस वर्ष थारु खानपिन÷परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब १०० भन्दा बढी स्टलहरू रहने बताइएको छ । यस्तै महोत्सवमा थारु सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाँचसहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतहरुको धमाकेदार प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिए । महोत्सवमा थारु जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) रहनेछन् । महोत्सवलाई व्यवस्थापन गर्न तथा सफल बनाउनको लागि करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मूल आयोजकले जनाएको छ ।


















