पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनलाई कोटिहोम गर्न दिने

पोखरा: पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनलाई कोटिहोम गर्न दिने सहमति भएको छ ।

सोमबार महानगरपालिकामा बसेको बैठकले कोटिहोम गर्न दिने तर, स्थान हेरफेर गर्ने सहमति भएको हो ।

बैठकमा महानगरपालिका, तीनवटै सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय र आयोजक मानवसेवा फाउन्डेसनका तर्फबाट पाँच सदस्यीय टोलीसहित केही व्यक्तिहरूबीच छलफल भएको थियो ।

बैठकले कोटिहोममा महानगरपालिकाले पनि अपनत्व लिने निर्णय भएको विश्वहिन्दु महासंघका उपाध्यक्ष शंकर खरालले जानकारी दिए ।

स्थान विशेषमा केही विवाद देखिएकोले मंगलबार कार्यपालिका बैठक बस्ने निर्णय भएको छ ।

कार्यपालिका बैठक बसेर पाँच सदस्यीय विवाद समाधान समिति बनाउने निर्णय पनि गरिएको छ । समितिमा आयोजकका तर्फबाट दुईजना, जिल्ला प्रशासनबाट एक र महानगरबाट दुईजना सदस्य रहनेछन् ।

यही समितिले तोकेको स्थानमा कोटिहोम हुनेछ । स्थानको टुंगो केही दिनमा लाग्ने जनाएको छ ।