राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनद्वारा सचिव बमलाई तत्काल रिहा गर्न माग

काठमाडौं: राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव युवा नेता निराजन बमलाई चितवन प्रहरीले पक्राउ गरेको घटनाप्रति संगठनले आपत्ति जनाएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आज आइतबार विज्ञप्ति जारीगरी संगठनका सदस्य सचिव युवा नेता निराजन बमलाई चितवन प्रहरीले पक्राउ गरेको घटनाप्रति आपत्ति जनाएको हो ।

राष्ट्रवादी युवा नेतालाई पक्राउ गर्नु सरकारको आडमा प्रहरी प्रशासनद्वारा गरिएको पुर्वाग्रहपुर्ण कार्य भएको संगठनले आरोप समेत लगाएको छ । साथै विभिन्न राजनीतिक दलका नेताहरुले खुलेआम एक-अर्कोलाई गम्भीर आरोप लगाउँदा पनि कार्वाही नहुने तर राष्ट्रवादी युवाले आफ्नो विचार व्यक्त गरेकै भरमा पक्राउ गरी कारबाही गर्नु कानुनसम्मत नभएको पनि संगठनले जनाएको छ ।

विज्ञप्तिमा लेखिएको छ – “हाम्रो संगठन यो गैरकानुनी गिरफ्तारलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र सरकारको अधिनायकवादी चरित्रको प्रमाण गर्दछ । राजनीतिक गतिविधिमा संलग्न युवा नेतालाई यसरी धरपकड गर्नु प्रजातान्त्रिक मुल्य र मान्यताको उपहास हो । हामी सम्बन्धित निकायलाई तत्काल निराजन बमलाई बिनाशर्त रिहाई गर्न जोडदार माग गर्दछौं ।”

त्यस्तै, विज्ञप्ति मार्फत संगठनले बमलाई तत्काल रिहाई नगरेमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै फोटो जलाएको आरोपमा उनलाई मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा   पक्राउ गरेको थियो ।