आज आईजी कुँवरको अवकाश हुने, नयाँ आईजीका लागि तीन जनाको प्रतिस्पर्धा

काठमाडौं: सोमबार राति १२ बजेबाट प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर अवकाशमा जाँदैछन् ।

अवकाशमा जान लागेका कुँवरलाई आइतबार नै सशस्त्र प्रहरी हेडक्वाटरले बिदाइ समेत गरिसकेको छ भने आज सोमबार प्रहरी हेडक्वाटरले कुँवरलाई बिदाइ गर्नेछ ।

विद्यमान प्रहरी नियमावलीअनुसार ३० वर्षे उमेर सेवा अवधि पुगेपछि उनी अवकाश हुने भएको हो ।

कुँवरको अवकाशसंगै ३१ औं आईजी पदका लागि तीन जना प्रतिस्पर्धामा छन् । जसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख तथा एआईजी कार्यरत दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)का प्रमुख तथा एआईजी सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङ छन् । उनीहरू तीन जनामध्ये एक जनालाई सरकारले आईजीमा बढुवा गर्नेछ ।

आईजी बढुवाका लागि आज मन्त्रीपरिषद् बैठक बस्ने बताइए पनि समय भने अहिलेसम्म यकिन भइसकेको छैन ।