काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने, दुई हजार ४१२ स्वास्थ्यकर्मी खटिने

क्यान्सरविरुद्धको खोप

काठमाडौं जिल्लामा करिब एक लाख १० हजार २६३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) लगाइने भएको छ ।जनस्वास्थ्य कार्यालय काठमाडौंले शनिबार आयोजना गरेको जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले काठमाडौंका ११ स्थानीय तहका एक लाख १० हजार २६३ जना किशोरीलाई खोप लगाइने जानकारी दिए । उनका अनुसार कक्षा ६ देखि १० सम्मका ९७ हजार ५४० र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ७२३ किशोरीलाई खोप लगाइनेछ । काठमाडौं महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी ५१ हजार ३४७ किशोरी र सबैभन्दा कम नागार्जुन नगरपालिकामा चार हजार ६५२ किशोरीलाई एचपिभी खोप दिइने विष्टले बताए । एक हजार १०१ विद्यालय र एक सय ४६ अन्य खोप केन्द्रमार्फत ती उमेरका किशोरीलाई खोप प्रदान गरिनेछ । खोपका लागि दुई हजार ४१२ स्वास्थ्यकर्मी खटिनेछन् । खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने महानगरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले नगरपालिकामा प्रमुख र वडा कार्यालयमा वडाध्यक्षको संयोजकत्वमा खोप समिति गठन गरेर कोही किशोरी पनि खोपबाट वञ्चित हुन नपरोस् भनेर काम भइरहेको बताए । उनले खोप लगाउन छुट्न सक्ने ठाउँको पहिचान गरेर विशेष अभियानसमेत सञ्चालन गरिने बताए । सरकारले देशभरिका कक्षा ६ देखि १०सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गरी क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ ।