अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले आगामी फेब्रुअरीमा हुने आईसीसी च्याम्पियन्स ट्रफीका लागि आइतबार १५ सदस्यीय टोलीको घोषणा गरेको छ । चोटका कारण लामो समय मैदानबाहिर रहेका इब्राहिम जादरान टोलीमा फर्किएका छन् । यद्यपि, स्टार बलर मुजिब उर रहमान यो पटक टोलीमा समावेश हुन सकेनन्। मिस्ट्री स्पिनर एएम गजनफर पहिलो पटक आईसीसी टूर्नामेन्ट खेल्ने तयारीमा छन्। जिम्बाब्वेविरुद्धको तीन खेलको वनडे शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका सेदिकुल्लाह अटल पनि टोलीमा परेका छन्। उनले ती तीन खेलमा एक शतक र एक अर्धशतकसहित १५६ रन बनाएका थिए। च्याम्पियन्स ट्रफीमा अफगानिस्तान समूह बीमा रहेको छ, जहाँ दक्षिण अफ्रिका, अस्ट्रेलिया, र इंग्ल्याण्ड जस्ता बलिया टोलीहरू छन्। अफगानिस्तानले फेब्रुअरी २१ मा कराँचीमा दक्षिण अफ्रिकाविरुद्ध आफ्नो अभियान सुरु गर्नेछ । त्यसपछि टोलीले फेब्रुअरी २६ मा लाहोरको गद्दाफी स्टेडियममा इंग्ल्याण्ड र फेब्रुअरी २८ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। अफगानिस्तानको कप्तानी हशमतुल्लाह शाहिदीले गर्नेछन । ट्रफी अघि अफगानिस्तानले पाकिस्तानका पूर्व कप्तान यूनिस खानलाई टोलीको मेन्टरको रूपमा नियुक्त गरेको छ। यसअघि २०२३ को एकदिवसीय विश्वकपमा अजय जडेजा र टी–२० विश्वकपमा ड्वेन ब्राभोले अफगानिस्तानको मेन्टरको भूमिका निभाएका थिए।












