काठमाडौं: नेपाल सुपर लिग (एनएसएल)को साविक विजेता ललितपुर सिटी एफसीले तेस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ ।
बिहीबार होटेल हिमालयमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले क्लबको आधिकारिक जर्सी सार्वजनिक गरेका हुन् ।
क्लबको दुई जर्सी सार्वजनिक गरिएको छ । एउटा रातो र कालो छ भने अर्को सेतो र रातो छ । जर्सीमा नेवारी हाकुपटासीको रङ झल्किन्छ ।
कार्यक्रममा मेयर महर्जनले आजको दिन आफ्नो लागि खुसीको दिन रहेको बताए । उनले दोस्रो संस्करणमा ललितपुरले उपाधि जितेर नेवारी भोज खुवाएर खुसीयाली मनाएको स्मरण गर्दै यस पटक विजेता बनेमा नगदबाटै पुरस्कृत गर्ने समेत जानकारी गराए ।
ललितपुर सिटी एफसीको मार्की प्लेयरमा अनन्त तामाङ छन् । ललितपुर सिटी एफसीले चैत १६ गते उद्घाटन खेल खेल्नेछ । उक्त खेल ललितपुरले काठमाडौं रेजर्स एफ सि विरुद्ध खेल्नेछ ।


















