काठमाडौं: वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष बस्नेतलो आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको हो ।
बस्नेतको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने छ ।
गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष समेत रहेका बस्नेत पुनर्जागरण साप्ताहिकका संस्थापक सम्पादक थिए ।
नेपाली कांग्रेस भक्तपुरको राजनीतिमा सक्रिय रहेका बस्नेत २०१७ सालदेखि राजनीतिमा लागेका थिए । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनका क्रममा बस्नेतलाई आजीवन कारावासको सजाय दिइएको थियो ।
उनी २०३६ सालमा जनमत संग्रहको घोषणापछि उनलाई जेल मुक्त गरिएको थियो ।


















