काठमाडौंः चिकित्सकीय भाषामा ट्युबरकुलोसिस अर्थात टीबी तथा क्षयरोग भनेर पनि चिनिने यो रोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक कीटाणुबाट लाग्ने सरूवा रोग हो । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रवाश्वासको माध्यमबाट सर्ने गर्दछ । क्षयरोगको जोखिम सबै उमेर समूहलाई हुन्छ तर बालबालिकका, वृद्धवृद्धा र दीर्घरोगीमा क्षयरोगको जोखिमम बढि हुने गर्दछ ।
क्षयरोग विशेषगरी फोक्सोमा लाग्ने रोग भए शरीरका अन्य अंगमा पनि क्षयरोग लाग्ने गर्दछ । यो रोग फोक्सोमा बाहेक फोक्सोको बाहिरी झिल्ली, लासिका ग्रन्थी, पाचन प्रणाली, मुत्र प्रणाली, मस्तिष्कको बाहिरी झिल्ली, छाला, आँखा जस्ता अंगमा लाग्ने गर्दछ । फोक्सोबाहेक अन्य अंगमा लागेको क्षयरोग भने तुलनात्मक रुपमा निको हुन कठिन हुने छाती रोग विशेषज्ञ डा.निरज बमको भनाई छ ।
सरकारले क्षयरोगको औषधीहरुरू निःशुल्क वितरण गर्छ । क्षयरोगको औषधी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी नियमित नछुटाई ६ देखि ८ महिनासम्म सेवन गर्नुपर्न हुन्छ । नियमित औषधी सेवनबाट क्षयरोग पूर्ण रुपमा निको हुन्छ । तर विचमा औषधी छोडेमा भने यसले जटिलता निम्तन सक्ने छाती रोग विशेषज्ञ डा.बम बताउँछन् ।
क्षयरोगका लक्षणहरुः
नियमित खोकी लाग्नु,
रुघाखोकी हुनु,
खकारमा रगत देखा पर्नु,
साँझपख ज्वरो आउनु,
राति सुतेको बेलामा पसिना आउनु,
तौल घट्दै जानु,
खाना नरुच्नु यसका लक्षणहरु हुन् ।
यदि हड्डी वा हड्डीको जोर्नीमा क्षयरोग भएको खण्डमा भने माथिल्लो लक्षणबाहेक हड्डी दुख्ने, सुन्निने, छाला रातो हुने जस्ता लक्षण देखिन्छ । त्यस्तै ग्रन्थिमा क्षयरोग भएमा ग्रन्थिमा पीप बग्ने, गाँठो बढ्दै जाने, आन्द्रामा भएको भए खाना कम रुच्ने, कब्जियत हुने जस्ता समस्या देखिन थाल्छन् ।
त्यस्तै मस्तिष्कमा क्षयरोग भएको अवस्थामा भने टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने जस्ता लक्षण देखिन्छ भने मुटुमा भए श्वास फेर्न गाह्रो हुने, थोरै हिंड्दा थकान महसुस हुने, स्याँ स्याँ हुने लक्षण देखापर्ने गर्दछ ।
नेपालमा क्षयरोगको अवस्थाः
हरेकबर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गरेको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष ६८ हजार पाँच सयको हाराहारीका क्षयरोगी थपिने गर्दछन् । तर त्यस मध्य्मा पनि ३० हजार बिरामी उपचारको दायरमा नै आउँदैनन् ।
सन् २०२३ मा विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोग प्रभावित व्यक्तिहरु थिए, जसको दर प्रति १ लाख जनसङ्ख्यामा २ सय २९ थियो । त्यसैगरी क्षयरोगका कारण १६ हजार व्यक्तिको मृत्यु भएको अनुमान छ । जसको मृत्युदर प्रति एक लाख जनसङ्ख्यामा ५४ हो । सोही अवधिमा, राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांकमा ४० हजार ७ सय ७६ जना क्षयरोगी उपचारमा आएका छन् । जसमा ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष रहेका थिए । साथै सोहि अवधिमा ‘ड्रग रेसिस्टेन्ट टीबी’ अर्थात ‘औषधी प्रतिरोधी क्षयरोग’ प्रभावित व्यक्तिहरुको संख्या ७ सय ५६ जना रहेको थियो ।
उपचारका लागि आएका मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग र २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोगी रहेका थिए । त्यसैगरी उपचार सफलता दर ९२ प्रतिशत छ । तर उल्लेखनीय प्रगतिका बावजुद पनि नेपालले अझै क्षयरोग अन्त्य गर्न धेरै चुनौतीको सामाना गरिरहनु परेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अहिले पनि करिब ४० प्रतिशत अनुमानित क्षयरोग प्रभावित व्यति उपचारको दायरामा आएका छैनन् ।
बजेट अभाव एक समस्याः
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार क्षयरोग नियन्त्रणका लागि सरकारले छु¥याउने बजेट अपुग पनि एक समस्या हो । केन्द्रलाई सरकारले क्षयरोग निवारण तथा उपचारका लागि वार्षिक रूपमा एक अर्ब २० करोड रुपैयाँ बजेट छुट्याउने गरेको छ । ‘राष्ट्रिय क्षयरोग कार्यक्रमको पञ्च वर्षीय क्षयरोग रणनीतिक योजना २०२१\२२ देखि २०२५\२६’ का अनुसार पाँच वर्षको लागि क्षयरोग कार्यक्रमको बजेट १ सय ९२ मिलियन अमेरिकी डलर रहेकोमा एक सय १० मिलियन मात्र उपलब्ध छ । उक्त बजेट ४३ प्रतिशतले कम हुनु हो । सरकारले पालिकास्तरबाट पनि क्षयरोग नियन्त्रणका लागि यस वर्ष सबै पालिकाका पठाउने गरी जम्मा २० करोड रुपैयाँ विनियोजन गरेको छ । तर सरकारले क्षयरोग नियन्त्रण र रोकथामका लागि बिनियोजन गरेको बजेट पर्याप्त नहुदाँ क्षयरोग नियन्त्रणका लागि कठिनाई पुगेको केन्द्रले जनाएको छ ।
नेपालभर क्षयरोग उपचारका सेवा ६ हजार २४१ स्वास्थ्य संस्था र निदानका सेवा ८०० स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन् । त्यस्तै रोगको द्रूत परीक्षण सेवाको पहुँच ६७ जिल्लाका ११७ स्वास्थ्य संस्थामा पुगेको छ ।
त्यस्तै, औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सेवा २९ वटा उपचार केन्द्र र ९८ उपचार उप–केन्द्रबाट प्रदान गरिँदै आएको केन्द्रले जनाएको छ । औषधि प्रतिरोधी बिरामीको लागि इन्जेक्सनरहित छोटो अवधिको, ६ महिने उपचार ‘रेजिमेन’ उपलब्ध पनि गराएको छ ।
क्षयरोग मुक्त नेपाल अभियान १ सय ४९ स्थानीय तहमा विस्तार पनि गरिएको छ । तर क्षयरोगको दर घटाउन र उपचारमा पहुँच बढाउन सरकारले पञ्चवर्षीय योजना अनुसार काम गरिरहे पनि क्षयरोगका बिरामी उपचारको दायरमा आउँन नसक्नुले रोग रोकथाम र नियन्त्रणमा चुनौती थपिदिएको छ । क्षयरोग रोगकथाम नियन्त्रणका लागि निःशुल्क औषधी उपचार देखि विभिन्न काम गरिए पनि अहिले पनि झन्डै आधा बिरामी उपचारको दायरमा नै आउँदैनन् ।


















