आज राजावादी र गणतन्त्रवादीले प्रदर्शन गर्दै

काठमाडौं: काठमाडौं उपत्यकामा आज गणतन्त्रवादी र राजावादीहरुले अलग अलग प्रदर्शन गर्दै छन् ।

गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्नेछन्।

गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् ।

त्यस्तै,राजावादीहरुको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । तर आजको प्रदर्शनको ‘कमाण्डर’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्दै छन् ।

समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन गर्न लागेको जनाएको छ ।

यसैगरी राजावादीहरुले संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि प्रदर्शन गर्न लागिएको बताएका छन् ।

आजको एसईई परीक्षा ११ बजे सकिएपछि १२ बजेदेखि प्रदर्शन सुरु गर्ने तयारी छ ।

दुवै पक्षको प्रदर्शन एकै समयमा प्रदर्शन हुन थालेपछि काठमाडौं उपत्यकाभर सुरक्षा सतर्कता बढाइएको छ ।