दुर्गा प्रसाईले तीनकुनेबाट भाग्न प्रयोग गरेको स्कार्पियो इटहरीबाट बरामद

काठमाडौं: प्रहरीले दुर्गा प्रसाईंले काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी फेला पारेको छ ।

उपत्यका प्रहरी कार्यालयले प्रसाईंले तीनकुनेमा वितण्डा मच्चाएर भाग्दा प्रयोग गरेको गाडी फेला पारेको हो ।

उपत्यका प्रहरी कार्यालय स्रोतका अनुसार उक्त गाडी इटहरीमा फेला परेको हो । इटहरीबाट उक्त गाडी काठमाडौं ल्याइएको छ ।

बा४२०८ नम्बरको स्कारपियो गाडी काठमाडौं ल्याएको हो । प्रहरीले उक्त गाडीमा दुर्गा प्रसाईं सवार थिए कि थिएनन् भन्नेबारे भने थप अनुसन्धान भैरहेको छ ।

चैत १५ मा राजावादीले गरेको प्रदर्शनका जनकमान्डर दुर्गा प्रसाईं थिए ।

प्रदर्शन अराजक बन्दा २ जनाको ज्यान गएको थियो । त्यस्तै, विभिन्न ठाउँमा लुटपाट मच्चिएको थियो । प्रहरी अधिकारीले भने प्रसाईं भागेर भारत पुगेको दाबी गरेका छन् ।

प्रसाई कुन बाटो हुँदै भारत पुगे भन्नेबारेमा भने अनुसन्धानमा संलग्न अधिकारी नै एकरूपता हुन सकेका छैनन् ।

केही अधिकारीले ललितपुर फर्सीडोल हुँदै पर्सा र चितवनको ठोरी हुँदै भारत भागेको दाबी गरेका छन् । तर, केही अधिकारीको दाबी भने झापाको बाटो प्रयोग गरेर भारत पुगेको भन्ने रहेको छ ।