सुकुटे पुगेर प्रचण्डले भने तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यक

प्रचण्डको भनाई

काठमाडौं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताएका छन् । आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उनले बताए । सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न पुगेका प्रचण्डले आज पत्रकार भेटघाटमा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटकपटक कुराकानी भएको बताए । नाका पुनः सहज रूपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले बिच भलिबल प्रतियोगिताले सुकुटेको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले पहिलोपटक नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुकुटेमा राखेको बेला सुकुटेले देशकै ध्यान केन्द्रित गरेको स्मरण गर्दै सिन्धुपाल्चोकको विकासका लागि चासो र चिन्ता गरिरहेको उल्लेख गरे ।