काठमाडौ: आर्थिक वर्षको अन्तिम चौमासिक सुरु भएसँगै बजेट खर्च बढाउन रकमान्तर र थप बजेट निकासाको ग्राफ बढ्न थालेको छ ।
सुरुमा विनियोजन गरिएको बजेट खर्च हुने अवस्था नभएमा रकमान्तर गरी अन्य कार्यक्रममा पठाउने गरिन्छ । अर्थ मन्त्रालयका अनुसार यस वर्ष फागुन महिनामा मात्र थप बजेट निकासा ४६ मन्त्रालय तथा निकायले लिएका छन् । जुन २ अर्ब ३८ करोड ७ लाख रुपैयाँ बराबर हुन आउँछ ।
यस महिनामा पूँजीगत तर्फ १ करोड रुपैयाँभन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा रकमान्तर गरिएको रकम समेत ३ अर्ब २८ करोड ९० लाख ५१ हजार रुपैयाँ पुगेको छ । सरकारले विकास बजेट खर्च बढाउन हरेक वर्षजसो रकमान्तरको सहारा लिनु पर्ने बाध्यता छ ।
पूर्वतयारी नभई आयोजनामा बजेटमा राख्नु र आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्म पनि पूर्वतयारीको काम सम्पन्न गर्न नसक्दा रकमान्तर गरी बजेट खर्च गर्नु पर्ने अवस्था छ । पूँजीगततर्फ सबैभन्दा धेरै रकमान्तर विकासे मन्त्रालयहरूका लागि भएको देखिन्छ ।
सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बाँकी अवधिमा पूँजीगत खर्च बढाउन १० करोड रुपैयाँभन्दा बढी विनियोजन भएका आयोजनामा स्थलगत अनुगमन तीव्र बनाउन सुझाव दिएको छ ।


















