काठमाडौं: आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत आज नेपाल र अफगानिस्तानको बीचमा निर्णायक खेल हुँदै छ । खेल विहान साढे ९ बजेदेखि हुने तय छ तर वर्षाले प्रभावित हुन सक्ने देखिएको छ ।
मुलपानीलगायत काठमाडौंका अधिकांश स्थानमा शनिबार विहानैदेखि पानी परेको थियो । त्यसकारण मैदान भिजेकाले टस र खेल समयमा सुरु नहुने सम्भावना देखिएको हो ।
अहिले वर्षाको मात्रा केही कम भएको छ भने दिउँसो पनि वर्षाको सम्भावना छ । पहिलो दिनको खेलमा पनि भिजेको मैदानका कारण खेल ढिला सुरु भएको थियो ।
नेपाल र अफगानिस्तान दुवैले हालसम्म खेलेका ३ वटै खेल जितेका छन् । नेट रनरेटमा अफगानिस्तान अगाडि छ ।
आजको खेल सम्भव नभएमा दुवै टोली अंक बाँड्नेछन् भने नेटरनरेटमा अगाडि भएको अफगानिस्तान विश्वकपका लागि छनोट हुनेछ ।


















