आफूलाई नेपाली फुटबलबारे जानकारी भएको: रोबर्टो कार्लोस

काठमाडौं: ब्राजिलियन फुटबल टिमका विश्वकप विजेता रोबर्टो कार्लोसले आफूलाई नेपाली फुटबलबारे जानकारी भएको बताएका छन् ।

नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण हेर्न मंगलबार काठमाडौं आइपुगेका कार्लोसले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा नेपालको ग्रासरुट फुटबलबारे आफू जानकार रहेको बताएका हुन् ।

उनले यसअघि सन् २०१५ देखि २०१६ सम्म भारतीय सुपर लिग (आईएसएल)को क्लब दिल्ली डाइनामोजको प्रशिक्षण सम्हालेका थिए । सोही बेला आफूले नेपाली फुटबलबारे नजिकबाट जानकारी पाएको कार्लोसले बताए ।

“यसअघि भारतमा प्रशिणका निम्ति आउँदा नेपालबाट नजिकै थिएँ, त्यसैकारण मलाई नेपालबारे थाहा थियो । यहाँ यसअघि नआएको भए पनि अहिले आउन पाउँदा निकै उत्साहित छु । यहाँको बारेमा ग्रासरुट फुटबलबारे धेरैपटक राम्रो कुरा सुनेको छु,” उनले भने ।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले कार्लोस एनएसएलको पहिलो क्वालिफायरका निम्ति आउने बताएको थियो । तर, अन्तिम समयमा उनी अस्वस्थ भएको कार्लोसको नेपाल भ्रमण स्थगित भएको थियो ।

विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा कार्लोसले रियाल मड्रिड विश्वकै उत्कृष्ट क्लब भएको बताए ।

उनले एकपटक फिफा विश्वकपको उपाधि, दुईपटक कोपा अमेरिका र सन् १९९७ मा फिफा कन्फेडेरेसन कपको उपाधि हासिल गरिसकेका छन् ।