देशभर गर्मी बढ्यो

काठमाडौं: देशभर तापक्रम बढ्दो क्रममा छ ।

केही दिनको वर्षापछि तापक्रम बढेको हो ।

आज मंगलबार काठमाडौंको अधिकतम तापक्रम ३१.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार अर्थात चैत ८ काठमाडौंको अधिकतम तापक्रम ३१.४ डिग्री थियो ।

काठमाडौंको तापक्रम गएको चैत १६ गते ३२ डिग्री पुगेको थियो । काठमाडौंको हालसम्मकै उच्च तापक्रम ३६.६ डिग्री सेल्सियस हो ।

महाशाखाले मंगलबार सार्वजनिक गरेको देशका २१ स्थानको विवरणमध्ये भैरहवा सबैभन्दा बढी गर्मी छ । मंगलबार भैरहवाको अधिकतम तापक्रम ४१.३ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार भैरहवाको अधिकतम तापक्रम ३८.९ डिग्री सेल्सियस मापन गरिएको थियो ।

त्यस्तै, धनगढी र नेपालगन्जको अधिकतम तापक्रम क्रमशः ४०.८ र ४० डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार धनगढी र नेपालगन्जको अधिकतम तापक्रम क्रमशः ३९ र ३८ डिग्री सेल्सियस थियो ।

मंगलबार दिपायलको अधिकतम तापक्रम ३८.२, वीरेन्द्रनगरको ३६.९, घोराहीको ३६.२, सिमराको ३८.६, जनकपुरको ३७.४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।