म्यानचेस्टर युनाइटेडको युरोपा लिगको फाइनलमा पुग्ने सम्भावना बलियो

काठमाडौंः इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

आज सम्पन्न सेमिफाइनलको पहिलो लेगमा युनाइटेडले स्पेनिस क्लब एथ्लेटिक क्लबलाई उसकै मैदान सान मामेस स्टेडियममा ३–० ले पराजित गरेको हो ।

कासेमिरोले खेलको ३०औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि पहिलो गोल गरे र भ्रमणकारी टोलीको दबदबा कायम गरे । त्यसको सात मिनेटपछि नै ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारेका थिए । पोर्चुगाली मिडफिल्डर ब्रुनोले पहिलो हाफको अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि म्यानचेस्टर युनाइटेडले पहिलो हाफमै तीन गोलको सहज अग्रता लियो।

एथ्लेटिक क्लबले खेलमा फर्कन संघर्ष गरेको थियो । तर सकेन । एथ्लेटिकका डानी भिभियनले रातो कार्ड पाएका थिए ।

अब दोस्रो लेग ओल्ड ट्राफोर्डमा हुनेछ । एथ्लेटिक क्लबलाई युरोपा लिगको सपना जीवित राख्न उल्लेखनीय पुनरागमन गर्नुपर्नेछ।