कतार एयरवेजसहित ३ अन्तर्राष्ट्रिय एयरलाइन्सद्वारा पाकिस्तानका लागि उडान स्थगित

काठमाडौंः पाकिस्तानी हवाई क्षेत्र बन्द भएपछि कतार एयरवेजले पाकिस्तानका लागि उडानहरु अस्थायी रुपमा स्थगित गरेको छ।

कतार एयरवेजले सामाजिक सञ्जाल एक्समार्फत पाकिस्तानमा उडान बन्द गरिएको जानकारी गराएको हो। ‘एयरलाइनले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र आफ्ना यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकतामा राख्न जारी राख्नेछ’, कम्पनीले भनेको छ।

एयरलाइन्सले यात्रुलाई प्रभावित उडानको पछिल्लो जानकारीका लागि कतार एयरवेजको आधिकारिक वेबसाइट हेर्न सल्लाह दिएको छ।

पाकिस्तानी अधिकारीहरुले लाहोर र कराँचीका प्रमुख सहरहरुलाई समेट्ने हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन्।

सीएनएनका अनुसार एयर फ्रान्स एयरलाइन्सले अर्को सूचना नभएसम्मका लागि पाकिस्तानमाथि उडान स्थगित गरेको र केही गन्तव्यका लागि आफ्नो उडान योजना परिवर्तन गरिरहेको जानकारी गराएको छ।

जर्मन एयरलाइन्स लुफ्थान्साले पनि रोयटर्स समाचार एजेन्सीलाई अर्को सूचना नभएसम्म पाकिस्तानी हवाई क्षेत्रबाट बच्ने जनाएको छ।