काठमाडौं: भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौँको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभर जेठ महिनाको अन्त्य सम्ममा पूरा हुने बताएका छन् ।
आइतबार बिहान फ्लाईओभर निर्माण कार्यको स्थलगत निरीक्षणका क्रममा उनले जेठ भरिमा पूरा गरी लगत्तै फ्लाईओभरबाट सवारी साधन सञ्चालन हुने बताएका हुन् ।
अनुगमनका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केहि प्राविधिक समस्या देखिएका समस्या भएको र त्यो समस्या समाधान गरी सकेको बताए ।
यस्तै, सडक विभागका महानिर्देशक रामहरि पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाई ओभर महत्त्वपूर्ण ठानिएकाले यसलाई प्राथमिकताका साथ पूरा गराउन लागि परेको बताए ।
सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बराहीका अनुसार भौतिक पूर्वाधारको मुख्य काम सकिएको छ भने हाल आवश्यक भागमा कालोपत्रेको काम भई रहेको छ । आशिष समानान्तर रेलिगेर जेभी काठमाडौँले फ्लाई ओभर निर्माणको काम गरी रहेको छ ।
फ्लाई ओभर अन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकाष्ट ग्रिडर पुल सहित एप्रोच सडक तथा कालोपत्रे निर्माणको काम भएको हो । फ्लाई ओभरमा ट्राफिक लाईट जडानको कार्य पनि हुनेछ ।
१७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण सुरु भएको फ्लाई ओभर सुरु ठेक्का सम्झौता बमोजिम २०८० फागुन ११ मा सम्पन्न हुनु पर्ने थियो । तर निर्धारित समयमा पूरा नभए पछि म्याद थप भई त्यसको निर्माण कार्य अघि बढेको हो ।


















