नेपालमा पछिल्लो एकहप्तामा सात जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं: नेपालमा पछिल्लो एकहप्तामा सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चीन र भारतमा देखिएको कोरोना नै नेपालमा फैलियो हो या नयाँ भेरियन्ट हो भन्ने बारेमा अहिलेसम्म यकिन भने भएको  छैन ।

स्वास्थ्य मन्त्रालयले आइतबार नेपालमा देखिएको नयाँ भेरियन्टका बारेमा छलफल गरेको थियो । सीमा नाका, हवाई नाकाहरुमा हेल्थ डेस्क राखेर चेकजाँच सुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

कोरोना देखिएकामध्ये सबैजसो काभ्रेका हुन् । धुलिखेलमा चेकजाँचको क्रममा कोरोना पुष्टि भएको हो । सातै जनालाई अहिले टेकुमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बूढाथोकीकाले अहिले नेपालमा देखिएको कोरोना नयाँ भेरियन्ट हो भन्ने पुष्टि भइनसकेको बताए ।

उनका अनुसार यसअघि पनि फाटफुट कोरोना पुष्टि भए पनि अहिले एकैठाउँमा सात जनालाई देखिँदा सतर्कता बढाइएको छ ।

बुढाथोकीका अनुसार अहिले पनि थप चेकजाँच बढाइएको छ । स्वास्थ्य मन्त्री प्रदिप पौडेलको सचिवालयले दिएको जानकारीअनुसार आइतबार पनि मन्त्रीले यसबारेमा निर्देशन दिइसकेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले पनि पछिल्लो २४ घण्टामा एक जनामा कोरोना पुष्टि भएको बताए ।

अहिले छिमेकी राष्ट्र भारतमा कोरोना देखिएकाले नेपालमा पनि एक प्रकारको डर छ । तर, डराउनुपर्ने अवस्था  नभएको सुबेदीले बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग  विशेषज्ञ डा. शेरबहादुर पुनले भारतमा देखिएको कोरोनाको भेरियन्ट संक्रामक रहेको तर डराइहाल्नुपर्ने स्थिति नरहेको बताए ।

उनले नयाँ प्रजाति कस्तो हुन्छ भनेर सबैको चासो हुन्छ । तर, घातक चाहिँ देखिएको छैन । नेपालमा देखिहाले पनि डराउनु पर्ने अवस्थ नरहेको उनले बताए ।