काठमाडौ: सरकारको ताजा बजेटले सुर्तीजन्य पदार्थमा कर नबढाएको भन्दै सार्वजनिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाले आपत्ति जनाएका छन्।
विश्व स्वास्थ्य संगठन बाट सम्मानित भएको यही वर्षमा समेत सरकार जनस्वास्थ्यप्रति उत्तरदायी बन्न असफल भएको संस्था एक्सन नेपाल, एनसीडी अलायन्स लगायतले आपत्ति जनाएका हुन्।
एक्सन नेपालले तुलानात्मक विश्लेषण सहितको बिज्ञप्ति जारी गरेको छ। एक्सन नेपालद्वारा जारी विज्ञप्ति अनुसार ‘सरकारले स्वास्थ्यको नाममा पाएको अन्तर्राष्ट्रिय सम्मानलाई प्रेरणा बनाउने आशा गरिएको थियो, तर २०८२/८३ को बजेटले सबैलाई निराश बनाएको छ।’ एनसीडी अलायन्सले विश्व स्वास्थ्य संगठनले करको दर ७५ प्रतिशत पुर्याउन भनेकोमा ३४ प्रतिशतकै हाराहारिमा अल्झिएर बसेको जनाएको छ। ‘वार्षिक ३९ हजार २०० बढी नेपालीको मृत्यु हुने सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि बनाइएको कडा कानूनको लागू गर्न सकेका छैनौं । यो आफैमा विडम्बना हो,’ विज्ञप्तीमा बताएको छ ।
एक्सन नेपालले विस्तृत विवरण समेत उल्लेख गर्दै मुद्रास्फीतिभन्दा पनि कम कर वृद्धि भएर सुर्तीजन्य पदार्थ अझ सस्तो भएको जनाएको छ।
‘बजेटमा चुरोटमा केवल ३–५ प्रतिशत मात्र अन्तशुल्क वृद्धिको घोषणा गरिएको छ भने अन्य सुर्तीजन्य पदार्थमा कर वृद्धि नै गरिएको छैन। कर वृद्धिको वास्तविक असर प्रति खिल्ली २.३ पैसा देखि २१ पैसा मात्र देखिएको छ, जुन गत वर्षको ५.४२ प्रतिशत मुद्रास्फीतिभन्दा पनि कम हो। यस्तो अवस्थाले सुर्तीजन्य पदार्थ झनै सस्तो बनाउने चेतावनी विज्ञप्तिमा दिइएको छ,’ बिज्ञप्तिमा भनिएको छ ।
यसैगरी स्वास्थ्य जोखिम कर पनि चार वर्षदेखि यथावत् रहेको संस्था एक्सन नेपालको भनाइ छ। बीडीमा ३० पैसा, चुरोटमा ६० पैसा र सुपारीजन्य पदार्थमा ६० रुपैयाँ प्रति केजी कर विगतका आर्थिक वर्षझैं यथास्थितिमा राखिएको बताइएको छ।
एक्सन नेपालले सरकारले उद्योगको नाफालाई जनस्वास्थ्यभन्दा अगाडि राखेको आरोप समेत लगाएको छ। ‘स्वस्थ्यलाई गम्भीर हानि पुर्याउने उद्योगलाई संरक्षण गर्ने नीति लिएको सरकार आफ्नै नागरिकका लागि खतरा हो,’ विज्ञप्तिमा भनिएको छ ।



















