फेरि एकपटक रूपान्तरणको आवश्यक छ : योगेश भट्टराई

काठमाडौं: नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राजनीतिक दल र राज्यको सेवा प्रवाहमा रूपान्तरणको आवश्यकता रहेको बताएका छन् ।

शनिबार (जेठ १७) ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बन्दुकले सेना कुट्ने, मार्ने र हान्नेबाहेक केही नदेखेको माओवादी पनि रूपान्तरण भएर हालको संविधानभित्र आएको उनले उल्लेख गरे । उनले आवश्यक पर्दा राजनीतिक दल र नेताहरू रूपान्तरण भइरहेका बताए । फेरि एकपटक रूपान्तरण हुन जरुरी रहेको उनको भनाइ थियो ।

नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्ने र राज्यलाई जनतासँग नजिक पुर्‍याउने काममा लाग्नुपर्नेमा उनले जोड दिए । यति बेला राज्य जनतासँग नजिक भएको अनुभूति हुन नसकेको उनले बताए ।

सुशासन र सेवा प्रवाहका बारेमा राज्य रूपान्तरित भएर अघि बढ्नु आजको आवश्यकता रहेको उनले औँल्याए । मध्यमवर्गलाई राज्यले हेर्न नसकेको उनले टिप्पणी गरे ।

सचिव भट्टराईले अवसरको ठिक ढंगले उपयोग गर्नुपर्ने जरुरी रहेको बताए ।