जीबी राईको राहदानी रद्द गर्न कास्की अदालतको आदेश

राहदानी रद्द गर्न आदेश

पोखरा पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त गीतेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीश हिमलाल बेल्वासेको एकल इजलासले जीबीको राहदानी रद्द गर्न आदेश दिएको हा । अदालतका स्रेस्तेदार राजन खनालले जीबीको राहदानी रद्द गर्न राहदानी विभागमा लेखी पठाउने आदेश भएको जानकारी दिए । अब आदेशबमोजिम विभागमा पत्राचार गर्ने उनले बताए । जीबी राईविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अदालतमा मुद्दा दायर भएको छ । उनी मुद्दा प्रक्रियामा सहभागी नभई विदेशमा लुकेर बसेकाले राहदानी रद्द गरेर पक्राउ गरी नेपाल झिकाउन जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत् अदालतमा निवेदन दिएको थियो।अदालतमा विचाराधीन मुद्दामा अभियुक्त बनाइएका ६३ मध्ये जीबीविरूद्ध १ अर्ब ८६ करोड ७३ लाख १९ हजार ५ सय ८ रुपैयाँ बिगो दाबी छ ।