रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं: गत चैत १५ गते भएको तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश भएको छ ।

काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको एजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश गरेको हो ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्र आज आफैं अदालत उपस्थित भएका थिए ।

सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए । र, उनी ३ लाख धरौटीमा छुटेका छन् ।

धरौटीमा रिहा भएसँगै सांसद राणा आज संसद् पनि उपस्थित भइसकेका छन् ।

मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो ।

गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन भड्किएर हिंसात्मक आस्था बनेको थियो । २ जनाको मृत्यु भएको उक्त घटनामा मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए ।

सोही घटनाका योजनाकार मानिएका दुर्गा प्रसाईंलाई भने अदालतले थुनामा पठाउन आदेश दिइसकेको छ ।