काठमाडौं: नेपालभर १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म नेपालमा १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो एक सातामा बाग्मती प्रदेशमा १९,मधेशमा ४,सुदुरपश्चिममा ४,कोशीमा २ र गण्डकीमा १ कोरोना संक्रमित फेला परेका छन्। भारतमा तीव्र गतिमा फैलिएको कोरोनाका कारण नेपालमा पनि यसको त्रास आम मानिसमा रहेको छ। भारतमा कोरोना सङ्क्रमणले धेरैलाई अस्पतालमा पुर्याउनुका साथै केही मृत्यु भएको घटना सार्वजनिक भएको छ ।
हाल भारतमा ओमिक्रोनको विकसित रुप एनबी.१.८.१ भाइरस तीव्र रूपमा फैलिएको शुक्रराज ट्रपिकल तथा अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। यो ओमिक्रोन जस्तै संक्रामक भएपनि कम घातक भएको पुन बताउँछन् । उनका अनुसार यो ओमिक्रोनको विकसित रुप हो।
यो भाइरस कम घातक भएकाले जोखिम समूहलाई अस्पतालसम्म पुर्याए पनि आइसियूमा भर्ना हुने दर निकै न्युन रहेको डा. पुनको भनाइ छ। उनका अनुसार कोभिड नेपालमा आउने जाने क्रम चलि रहेकोले पनि त्यसमा आत्तिनुपर्ने अवस्था नरहेको डा. पुन बताउँछन्।
‘संक्रामक भाइरस भएपनि धेरै नै घातक रहेको भन्ने अहिलेसम्म छैन’,‘यद्यपि ज्येष्ठ नागरिक तथा ‘दीर्घरोगीहरुलाई जटिलता ल्याउने सम्भावना छ’, ‘वेवास्ता गर्नुभएन तर आत्तिनुपर्ने अवस्था पनि छैन,’ डा पुनले भने। सकभर भीडभाडमा सामेल नहुने, मास्कको अनिवार्य गर्ने,साबुनपानीले हात धुने,रुघाखोकी लाग्दा सतर्कता अपनाउने लगायत रोकथामका उपायहरु अपनाउन भने आवश्यक भएको डा. पुन सुझाव छ ।


















