काठमाडौं: मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्त पत्रकारिता र मिडिया विकास संस्थाहरूको सबैभन्दा ठूलो विश्व समुदाय ग्लोबल फोरम फर मिडिया डेभलपमेन्ट (जिएफएमडि) को संचालक समितिमा निर्वाचित भएका छन्।
बुधवार सम्पन्न जिएफएमडिको साधारणसभाबाट पन्त निर्वाचित बनेका हुन् ।
पन्त विश्वको सबैभन्दा ठूलो मिडिया विकास समुदायको संचालक समितिमा निर्वाचित हुने पहिलो नेपाली पनि बनेका छन्।
नवनिर्वाचित पन्तसहित आगामी ४ वर्षका लागि विभिन्न देश र क्षेत्रका १७ जना नयाँ निर्वाचित सदस्यहरूले जिएफएमडिको नेतृत्व गर्नेछन्। निर्वाचनमा यसपटक ५४ जनाले उम्मेदवारी दिएका थिए, जुन चार वर्षअघि सम्पन्न निर्वाचनको तुलनामा दोब्बर हो।
जुन १२ देखि जुलाई १४ सम्म अनलाइनमा चलेको निर्वाचनमा २१५ जना साधारण सदस्यहरूमध्ये ७६ प्रतिशतले मतदान गरेका थिए।
नव-निर्वाचित संचालक समितिको चार वर्षे कार्यकाल नोभेम्बर २०, २०२५ मा मलेसियाको क्वालालम्पुरमा आयोजना हुने पहिलो बैठकबाट सुरु हुनेछ। सो बैठकबाट समितिले नयाँ अध्यक्ष, उपाध्यक्ष, र कोषाध्यक्ष चयन गर्नेछ, जसले कार्यकारी निर्देशक मीरा मिलोसेभिकसँग मिलेर जिएफएमडिको रणनीति निर्माण र मार्गदर्शन गर्नेछन्।
समितिमा निर्वाचित बनेका पन्तले मिडिया एक्सन नेपालको प्रतिनिधिका रुपमा मात्र नभई , एशियाली मिडिया समुदायको आवाजलाई मिडिया विकास, अभिव्यक्ति र प्रेस स्वतन्त्रताको दिशा तय गर्ने संस्थाहरूसँगको विश्व संवादमा पुर्याउन पाउनु अफ्नो लागि ठूलो सम्मान भएको बताएका छन्।
पन्त एक सञ्चार विज्ञ तथा अन्तर्राष्ट्रिय रुपमा प्रख्यात मिडिया अधिकारकर्मी हुन्।
पन्तको नेतृत्वमा मिडिया एक्सन नेपालले अनुसन्धान, क्षमता अभिवृद्धि, मिडिया अधिकारको अनुगमन तथा पैरवीमार्फत स्वतन्त्र र जवाफदेही पत्रकारिताको संरक्षण पनि गर्दै आएको छ।


















