क्यानबेराः अस्ट्रेलियाका प्रधानमन्त्रीले आवास निर्माण क्षेत्रमा काम गर्ने प्रशिक्षार्थीलाई थप नगद प्रोत्साहन दिने घोषणा गरेका छन् । नेसनल प्रेस क्लबमा सन् २०२५ को पहिलो प्रमुख सम्बोधनमा चुनावी नीतिको घोषणा गर्दै प्रधानमन्त्री एन्थोनी अल्बानीसले शुक्रबार प्रशिक्षार्थीलाई थप नगद प्रोत्साहन दिने घोषणा गरेका हुन् । यसले अस्ट्रेलियामा ’ट्राडिज’ भनेर चिनिने अर्को पुस्ताका दक्ष कामदारलाई सहयोग गर्ने र निर्माण कार्यबललाई प्रोत्साहन गर्ने बताएका थिए ।
प्रोत्साहनका लागि ६२ करोड ६० लाख ९० हजार अष्ट्रेलियन डलर (करिब ३९ करोड ९० लाख ४० हजार अमेरिकी डलर) छुट्टाइएको छ । यस नीति अन्तर्गत आवासीय निर्माणमा काम गर्ने दक्ष श्रमिकहरूले उनीहरूको प्रशिक्षणको क्रममा पाँच किस्तामा १० हजार अष्ट्रेलियन डलर ( छ हजार ३०८ अमेरिकी डलर) प्राप्त गर्नेछन् ।
अल्बानीसको लेबर पाटीको नेतृत्वमा रहेको सरकारले सन् २०२३ मा अस्ट्रेलियामा सन् २०२९ सम्मको पाँच वर्षको अवधिमा १२ लाख नयाँ घर निर्माण गर्ने लक्ष्य राखेको थियो ।
उद्योग सङ्गठन मास्टर बिल्डर्स एशोसिएशनले बुधबार दिएको जानकारीअनुसार सन् २०२४ को सेप्टेम्बरसम्मको १२ महिनाको अवधिमा एक लाख ६५ हजार नयाँ घरको निर्माण सुरु भएको छ ।
एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत डेनिटा वावनका अनुसार हालको गतिमा पाँच वर्षको अवधिमा आठ लाख २५ हजार नयाँ घर निर्माण हुनेछन् ।
अल्बानीजको सरकारद्वारा स्थापित उद्योग नेताहरूको एक सल्लाहकार समूहका अनुसार १२ लाख नयाँ घर निर्माणको लक्ष्य पूरा गर्न थप ९० हजार आवास निर्माण श्रमिकहरूको आवश्यकता पर्दछ ।














