काठमाडौं: भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देशभरका २३ अदालत जलाइएको छ ।
प्रदर्शनका क्रममा सर्वोच्च र विशेषसहित सात उच्च र १४ जिल्ला अदालत जलाइएको सर्वोच्च अदालतले जनाएको हो ।
जलाएको अदालहरुमा के कति क्षति भएको छ भन्ने तथ्यांक भने अहिले आएको छैन । तर सम्बन्धित अदालतबाट क्षति यकिन गर्ने काम भइरहेको सर्वोच्च अदालतले जनाएको छ ।
आगजनी गरिएका अदालत मध्य सर्वोच्चका अधिकांश मिसिल, अभिलेख, इजलास र सर्भर समेत जलेर भवन नै जीर्ण बनेको छ ।
भूकम्पका कारण जीर्ण बनेको सर्वोच्चको भवन रेट्रोफिटिङ गरिए थियो । तर आगलागीका कारण यसको मूल भवन पुनः प्रयोगमा नआउने प्रारम्भिक अनुमान गरिएको छ ।
काठमाडौं जिल्ला अदालतमा ठूला र पुराना मुद्दासहित अभिलेख नष्ट गर्ने उद्देश्यले आगजनी गरिएको आरोप अधिवक्ताहरुले लगाएका छ्न् ।
तथ्यांक अनुसार, काठमाडौं अदालतको अभिलेख शाखा तथा फाँट नम्बर ९, १३ र २० पूरै नष्ट भएका छ्न् । त्यस्तै, ६ वटा इजलास जलाएर ध्वस्त पारिएको छ । जस्मा फाँट नम्बर ९ र १३ मा पुराना र ठूला मुद्दाका मिसिल रहेका छन् । फाँट नम्बर २० मा जेनरल मुद्दाका मिसिल थिए । अरू फाँटमा पनि आगो लगाइएको छ । तर, त्यहाँ केही मिसिल भने जोगिएको तथ्यांक छ ।
यसैगरी, काठमाडौं उपत्यकाबाहिर उच्च अदालत विराटनगर, उच्च अदालत जनकपुरको राजविराज इजलास, उच्च अदालत पाटनको हेटौँडा इजलास, उच्च अदालत पोखरा, उच्च अदालत तुलसीपुर, उच्च अदालत तुलसीपुरको बुटवल इजलास र उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा आगजनी गरिएको छ ।
जिल्लातर्फ काठमाडौंसहित मोरङ, सप्तरी, सिरहा, सिन्धुली, मकवानपुर, चितवन, तनहुँ, कास्की, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, कैलाली अदालतमा आगजनी गरिएको छ । सबै अदालतमा क्षतिको विवरण संकलनको कार्य गरिँदै छ ।


















