जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा मृत्यु हुनेको संख्या ६ पुग्यो

चितवन: चितवनमा जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

साउनयता हालसम्म उनीहरूको मृत्यु भएको हो ।

जनस्वास्थ्य कार्यालयका अनुसार, मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक कालिका नगरपालिकाका रहेका छन् ।

पछिल्लोपटक खैरहनी वडा नम्बर ४ की महिलाको यस रोगका कारण मृत्यु भएको कार्यालयका किट नियन्त्रक शाखाले जानएको छ ।

जिल्लामा हालसम्म १७ जनामा यो रोगको संक्रमण देखा परेको छ । त्यसमध्ये १० महिला हुन भने सात पुरुष छन् । उनीहरूमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षभित्रका र नौ जना ६० वर्षमाथिका छन् । संक्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाएको अवस्था अस्पष्ट रहेको बताएको छ ।

संक्रमितमध्ये सात जना भरतपुरभित्रका रहेका छन् । मृत्यु भएकामध्ये एक ८९ वर्षका, अर्का एक जना ८१ वर्षका र दुई जना ७० वर्षका रहेका छन् । एक जना ३९ वर्षीय र अर्का एक जना ४२ वर्षका रहेको बताएको छ ।

यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टे घर बाहिर बस्न रुचाउने, घर बाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्छ ।

यो लामखुट्टेले सुँगुर, बंगुर, हाँसजस्ता पशुपन्छीलाई टोक्यो भने सर्ने गर्दछ ।