मुस्ताङमा हिमपात, कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध

मुस्ताङ: मुस्ताङमा यो यामको पहिलो हिमपात भएको छ ।

उपल्लो मुस्ताङका कोरलानाका, लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रमा मंगलबार (कात्तिक ११) बिहानदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

प्रमुख जिल्ला अधिकारीका अनुसार, लोमान्थाङ–२, छोसर, कोरलानाका र मुक्तिनाथ क्षेत्रसहित उपल्लो र तल्लो मुस्ताङका उच्च लेकहरूमा वर्षासहित हिमपात भएको छ ।

यस्तै, मुक्तिनाथ क्षेत्रमा हिउँ परेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए । मुक्तिनाथमा बिहानैदेखि निरन्तर हिउँ परिरहेकाले मन्दिरमा पुग्ने दर्शनार्थीलाई समस्या भएको उनले बताए ।

यसैगरी, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्षका अनुसार, लोघेकर दामोदरकुण्डको उच्चलेकमा हिमपात भइरहेको छ । बस्तीनजिक वर्षासँगै आंशिक हिमपात भएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका खिंगा, झोङ, छेंगुर, फल्याकलगायत उच्च स्थानका गाउँमा पनि बाक्लो हिउँ परेको छ । जसका जिल्ला प्रशासन कार्यालयले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४, कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको पनि गरेको छ ।

उक्त सडकमा बाक्लो हिमपात भएका कारण दुर्घटनाको जोखिम रहेको उल्लेख गर्दै मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई यस्तो आग्रह गरिएको हो ।

जोमसोम–मुक्तिनाथ सडकखण्डअन्तर्गत कागबेनीदेखी साँघुरो र घुम्ती मोड भएको कालोपत्र सडकमा बाक्लो हिउँ जमेका कारण सवारीसाधन लिएर मुक्तिनाथको यात्रा नगर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालयले पनि गरेको छ ।

कागबेनी–मुक्तिनाथ सडकखण्डको कालोभीर, खिंगा, झारकोटलगायत स्थानका सडकमा बाक्लो हिउँ जमेकाले सवारीसाधन नलैजान यात्रुलाई अनुरोध गरिएको हो ।

मुस्ताङमा यो यामको हिउँ कात्तिकमै परेकाले स्याउलगायत अन्नबालीलाई फाइदा पुग्ने अशा पनि गरिएको छ ।