काठमाडौं: बुढानीलकण्ठ नगरपालिका स्वास्थ्य महाशाखा र राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र ( (एन.टी.सी.सी ) को संयुक्त आयोजनामा छाती रोग तथा क्षयरोगको निःशुल्क पूर्व परीक्षण शिविर वडा नं. १३ स्थित चुनिखेल स्वास्थ्य चौकीबाट सुरु गरिएको छ।
कृत्रिम बौद्धिकता (एआइ) प्रविधिमा आधारित एक्स–रे (एसीएफ क्याप) प्रणाली प्रयोग गरी सञ्चालन गरिएको यस शिविरमा बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म निःशुल्क छाती परीक्षण सेवा उपलब्ध गराइनेछ। शिविर क्रमशः नगरका विभिन्न वडामा सञ्चालन गरिने जनाइएको छ।
कार्यक्रमका फोकल पर्सन प्रतिभा रेग्मीका अनुसार श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी, कुपोषित बालबालिका, जेष्ठ नागरिक, मधुमेह, क्यान्सर तथा एचआईभी संक्रमित व्यक्ति, धुम्रपान तथा लागूपदार्थ सेवन गर्ने व्यक्ति, साथै विभिन्न उद्योग–कलकारखानामा कार्यरत मजदुरहरूलाई प्राथमिकताका साथ सेवा प्रदान गरिनेछ।
दुई हप्ता वा सोभन्दा बढी समयदेखि लगातार खोकी लाग्ने, ज्वरो आउने, तौल घट्ने, भोक कम लाग्ने वा छाती दुख्ने जस्ता लक्षण देखिएका व्यक्तिहरूलाई अनिवार्य रूपमा परीक्षण गराउन आग्रह गरिएको छ।
शिविर आगामी दिनहरूमा मण्डीखाटार (वडा नं. ९), चपली घुम्ती (वडा नं. ३), न्यायिक चोक (वडा नं. ६) र बुढानीलकण्ठ नगर अस्पताल, कपन (वडा नं. १०) मा समेत सञ्चालन गरिनेछ।


















