काठमाडौं: सन् २०२६ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ।
नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा १ लाख २ हजार ६२६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा १९.०३ प्रतिशत बढी हो।
पर्यटक आगमनमा सुधार आउनुमा भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्नु मुख्य कारण मानिएको छ। मे महिनामा ४० हजार ७८२ भारतीय पर्यटक हवाई मार्गबाट नेपाल आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतभन्दा बढी वृद्धि हो।
चीनबाट ११ हजार ५१४ तथा अमेरिकाबाट ९ हजार १ पर्यटक नेपाल आएका छन्। प्रि–मनसुन सिजन भएकाले पर्वतारोहण र पदयात्रा गतिविधि बढ्नुका साथै गर्मी छल्न भारतीय पर्यटकको आगमन पनि उच्च रहेको पर्यटन बोर्डले जनाएको छ।
यो वर्षको मे महिनाको पर्यटक आगमन संख्या कोभिड–१९ महामारीअघिको सन् २०१९ को सोही अवधिको तुलनामा समेत बढी रहेको तथ्यांकले देखाएको छ। पर्यटन क्षेत्रका सरोकारवालाले यसलाई नेपालको पर्यटन उद्योग पुनरुत्थानको सकारात्मक संकेतका रूपमा लिएका छन्।




















