बुढानीलकण्ठमा अपाङ्गता भएका व्यक्तिका लागि एआई र ग्राफिक्स डिजाइन तालिम सम्पन्न

काठमाडौं: बुढानीलकण्ठ नगरपालिका–८ स्थित नेपाल अपाङ्ग महिला संघले बुढानीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरेको पाँच दिने ग्राफिक्स डिजाइन तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ।

जेठ १५ गतेदेखि १९ गतेसम्म सञ्चालित तालिम बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाको प्रमुख आतिथ्यता तथा संघकी अध्यक्ष मिना पौडेलको अध्यक्षतामा भएको थियो।

तालिममा सहभागीहरूलाई ग्राफिक्स डिजाइन, डिजिटल सामग्री निर्माण, सामाजिक सञ्जालका लागि सामग्री उत्पादन तथा एआईको प्रयोगसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

नगरपालिकाद्वारा आयोजित तालिम कार्यक्रमले नयाँ प्रविधि र डिजिटल सीपबारे ज्ञान प्राप्त गरेको तथा यसले भविष्यमा रोजगारी र स्वरोजगारका अवसरका बाटो खोल्न मद्दत गरेको सहभागीहरुले विश्वास व्यक्त गरे।

तालिम कार्यक्रमको समापनमा कार्यक्रममा बोल्दै बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले अपाङ्गता भएका व्यक्तिहरूलाई प्रविधिसँग जोडेर आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन्। त्यस्तै, तालिमले सहभागीहरूको डिजिटल सीप, आत्मविश्वास र रोजगारीका अवसर अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

पाँच दिने ग्राफिक्स डिजाइन तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिममा सहभागी भएकाहरुलाई  तालिमको अन्तिम दिन प्रमाणपत्र वितरण समेत गरिएको थियो।