काठमाडौं: नेपाली कांग्रेसका सचेतक निश्कल राई ले प्रधानमन्त्रीले नेपाललाई नै सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्न खोजेको आरोप लगाएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीका अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको भन्दै आपत्ति जनाए। प्रधानमन्त्रीका समर्थकहरूले सामाजिक सञ्जालमार्फत नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने आधारहीन तर्क र सामग्री फैलाइरहेको दाबी गर्दै उनले यस्तो कार्य राष्ट्रहितविपरीत भएको बताए।
राईले प्रश्न गर्दै भने- “नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा प्रमाणित गर्न किन खोजिँदै छ ? राष्ट्रको बेइज्जती गर्दा आनन्द मान्ने कस्तो मानसिकता विकास भइरहेको छ ? हामी कस्तो समाज निर्माण गर्न खोजिरहेका छौं ?”
प्रधानमन्त्री बालेनले जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको केही भूमि मिचेको आशयको अभिव्यक्ति दिएका थिए। उक्त भनाइलाई लिएर विपक्षी दलहरूले निरन्तर विरोध जनाउँदै आएका छन्।
राईले विपक्षी दलहरूले विगतका बैठकदेखि नै “नेपाल सीमा अतिक्रमणकारी देश होइन” भन्ने विषय उठाउँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्नुपर्ने र माफी माग्नुपर्ने माग दोहोर्याए।
उनले सभामुखको भूमिकाप्रति पनि असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन नआएको गुनासो गरे। साथै, प्रधानमन्त्रीलाई रोस्ट्रममा बोलाएर राष्ट्रिय हितविपरीत मानिएको अभिव्यक्तिबारे स्पष्टिकरण गराउन र आत्मालोचना गर्न सभामुखबाट रुलिङको अपेक्षा रहेको समेत बताए।




















