बजेटप्रति हर्क साम्पाङको कटाक्ष : समस्या समाधान होइन, देखावटी योजना

काठमाडौं: प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङ ले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट मुलुकका वास्तविक समस्या समाधान गर्न असफल भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै साम्पाङले बजेटलाई “खुट्टाको घाउ निको नबनाई नयाँ जुत्ता किन्ने” सोचसँग तुलना गरे।

उनले देशका आधारभूत समस्याको समाधान गर्नुपर्ने बेला सरकारले प्राथमिकता नै फरक क्षेत्रमा दिएको आरोप लगाए।
“खुट्टामा घाउ लागेको छ भने पहिले घाउ निको पार्नुपर्छ, नयाँ जुत्ता किनेर समस्या समाधान हुँदैन,” भन्दै उनले सरकारले ल्याएको बजेटले जनताका वास्तविक आवश्यकता सम्बोधन नगरेको बताए।

साम्पाङले पेट्रोलियम पदार्थको मूल्यप्रति पनि असन्तुष्टि जनाए। नेपालमा इन्धनको मूल्य विश्वकै महँगोमध्येमा पर्दा पनि त्यसलाई घटाउने वा उपभोक्तालाई राहत दिने कुनै ठोस व्यवस्था बजेटमा समावेश नगरिएको उनको भनाइ थियो।

उनले बजेटले आर्थिक संकट, बेरोजगारी, उत्पादन वृद्धि तथा जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई पर्याप्त प्राथमिकता नदिएको दाबी गरे।
सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि संसदमा जारी छलफलका क्रममा सत्ता र प्रतिपक्षका सांसदहरूले आ-आफ्नो धारणा राखिरहेका छन्।

हर्क साम्पाङको अभिव्यक्तिले पनि बजेटको प्रभावकारिता र प्राथमिकताबारे नयाँ बहस सुरु गराएको छ।