काठमाडौंं: एलनिनो पुनः सक्रिय भएको छ र यस वर्ष यो अत्यन्त शक्तिशाली ‘सुपर एलनिनो’ मा विकसित हुन सक्ने संकेत देखिएको छ।
अमेरिकी मौसम तथा महासागर अध्ययन निकाय नोभाका अनुसार यसको सम्भावना ६३ प्रतिशत रहेको हो।
वैज्ञानिकहरूले यसले विश्वव्यापी मौसम प्रणालीमा व्यापक प्रभाव पार्नुका साथै पृथ्वीको तापक्रमलाई थप बढाउन सक्ने चेतावनी दिएका छन्।
एलनिनो उष्णकटिबन्धीय प्रशान्त महासागरमा देखिने प्राकृतिक मौसमी प्रक्रिया हो। यस क्रममा महासागरको मध्य र पूर्वी भागको पानी असामान्य रूपमा तातो बन्छ, जसका कारण हावाको प्रवाह र वर्षा प्रणालीमा परिवर्तन आउँछ। यही परिवर्तनले विश्वका विभिन्न क्षेत्रमा फरक–फरक मौसमीय असर देखापर्छ।
नोभाको क्लाइमेट प्रिडिक्सन सेन्टरले शरद ऋतुसम्म एलनिनो कायम रहने सम्भावना शतप्रतिशत रहेको जनाएको छ भने जाडो मौसमसम्म पनि यसको प्रभाव जारी रहन सक्ने अनुमान गरेको छ। वैज्ञानिकहरूका अनुसार सुपर एलनिनो बन्न समुद्री सतहको तापक्रम औसतभन्दा २ डिग्री सेल्सियसभन्दा बढी हुनुपर्छ। हाल प्रशान्त महासागरमा तातो पानीको ठूलो मात्रा पूर्वतर्फ सरेर सतहतर्फ उक्लिन थालेकाले शक्तिशाली एलनिनोको संकेत देखिएको हो।
विगतमा सन् १९८२–८३, १९९७–९८ र २०१५–१६ मा यस्तै सुपर एलनिनो देखिएको थियो। यसपटकको घटना पनि तीमध्ये एक बन्न सक्ने अनुमान गरिएको छ।
एलनिनोका कारण महासागरबाट वायुमण्डलमा ठूलो मात्रामा ताप ऊर्जा सर्ने भएकाले विश्वको औसत तापक्रम बढ्न सक्छ। जलवायु परिवर्तनबाट पृथ्वी पहिले नै तातिरहेको अवस्थामा सुपर एलनिनो थपिएमा सन् २०२७ इतिहासकै सबैभन्दा तातो वर्ष बन्न सक्ने वैज्ञानिकहरूको आकलन छ।
यसले तातोलहर, बाढी, खडेरी, डढेलो र समुद्री तापलहरजस्ता चरम मौसमी घटनाको जोखिम बढाउन सक्छ। भारत र दक्षिण–पूर्वी एसियामा मनसुनी वर्षा कम हुन सक्ने, अस्ट्रेलिया र इन्डोनेसियामा खडेरी तथा डढेलोको जोखिम बढ्न सक्ने तथा दक्षिण अमेरिकाका केही क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने अनुमान गरिएको छ।
समुद्री पारिस्थितिक प्रणालीमा पनि यसको असर पर्ने सम्भावना छ। समुद्रको तापक्रम अत्यधिक बढ्दा कोरल रिफहरू सेतो हुने तथा नष्ट हुने जोखिम बढ्ने वैज्ञानिकहरूले बताएका छन्।
जलवायु परिवर्तन र सुपर एलनिनो एकसाथ सक्रिय हुने भएकाले यसपटक यसको प्रभाव कति गम्भीर हुन्छ भन्ने विषयलाई वैज्ञानिकहरूले चासोका साथ हेरिरहेका छन्।




















