खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं: प्रतिनिधिसभा सदस्य खुश्बु ओली को चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

साइबर ब्युरोले ६१ वर्षीय प्रद्युम्न श्रेष्ठलाई सोमबार पक्राउ गरेको हो।

सांसद ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

साइबर ब्युरोका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका–११ सतुंगल निवासी श्रेष्ठलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिइएको छ।

ओलीले फेसबुकमा आफ्नो तस्बिरमुनि अपशब्द प्रयोग गर्दै नकारात्मक टिप्पणी गरेर चरित्र हत्या गरिएको दाबी गर्दै करिब तीन दर्जन व्यक्तिविरुद्ध उजुरी दर्ता गराएकी थिइन्। यस विषयमा उनले केही दिनअघि प्रतिनिधिसभामा समेत कुरा उठाएकी थिइन्। त्यसबेला गृहमन्त्री सुधन गुरुङ ले उजुरी दिन आग्रह गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताएका थिए।

यसैबीच सांसद ओलीले सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित रूपमा गालीगलौज, चरित्रहत्या तथा ज्यान मार्ने धम्की आएपछि कानुनी उपचारको बाटो रोज्न बाध्य भएको बताएकी छन्।

उनले लोकतन्त्रमा आलोचना स्वाभाविक भए पनि धम्की, घृणायुक्त अभिव्यक्ति, चरित्रहत्या र हिंसाको उक्साहट स्वीकार्य नहुने स्पष्ट पारिन्। साथै, व्यक्तिगत मोबाइल फोन र म्यासेन्जरमा समेत बलात्कार तथा भौतिक आक्रमणका धम्की आएको दाबी गर्दै यस्ता गतिविधिमा संलग्नमाथि कानुनी कारबाही आवश्यक रहेको बताइन्।

ओलीले टिकटक, युट्युब र फेसबुकमा आफूविरुद्ध घृणा फैलाउने सामग्री हटाउन आग्रह गर्दै अन्यथा कानुनी परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएकी छन्। साथै, घटनाप्रति चासो देखाएकोमा गृहमन्त्री र साइबर ब्युरोलाई धन्यवाद व्यक्त गरेकी छन्।