काठमाडौं: महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।
बा.२ ख ६४३८ नम्बरको बस शनिबार बिहान करिब ९ बजे उदयपुरगढी गाउँपालिका–७ को अँधेरी क्षेत्रमा दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार बस सडकबाट करिब २५ मिटर तल खसेको थियो। दुर्घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ। घाइतेहरूको अवस्था र परिचयबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण तत्काल खुल्न नसकेको र घटनाबारे थप जानकारी संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीले दुर्घटनासम्बन्धी अनुसन्धान अघि बढाएको छ।


















